काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षीदलले राम्रा काममा सदैव सरकारलाई सहयोग गरिरहेको स्पष्ट पार्दै काठमाडौँलगायत सहरमा केही दिनदेखि भइरहेको युवाको आन्दोलनलाई ‘प्रतिपक्षीले उचालेको भन्ने हल्ला’ निराधार भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद केसीले कोरोनाविरुद्धको लडाईमा कांग्रेसले सरकारलाई सुरुदेखि साथ दिँदै आएको तर प्रधानमन्त्रीले विपक्षीले असहयोग गरेको बताए । उनले जनता भोकले मर्न थालेको तथा क्वारेन्टाइनमा राम्रो व्यवस्था गर्न नसक्दा मानिसहरू ज्यान गुमाउन थालेको बताए ।
‘क्वारेन्टाइनमा मानिसहरू भेडाबाख्रा जसरी राखिएको छ। मान्छे मरिरहेको छ। अनि आज सरकार प्रतिपक्षीले सहयोग गरेन भनेर ठूलो कुरा गर्ने,’ उनले भने, ‘लोकलाज त राखिदिनुस् प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीज्यूलाई भन्छु, इनफ इज इनफ । कन्ट्रोल गर्नुस् । अब जनता सडकमा आइसके । हामी पनि थाम्न नसक्ने अवस्था होला ।’
उनले अरिङ्गालहरूले प्रधानमन्त्रीलाई राम्रो काम भइरहेको भनेपनि भ्रष्टाचार नघटेको बताए ।
‘अरिङ्गालहरूले प्रधानमन्त्रीलाई राम्रो काम भइरहेको छ भनेर भन्दैछन् । प्रधानमन्त्रीज्यू राम्रो काम भएको छैन, मात्र भ्रष्टाचार भएको छ,’ उनले आक्रोश पोखे ।
त्यस्तै सांसद प्रेम सुवालले यही जेठ ७ गते जारी गरेको नयाँ नक्साअनुसार शनिबार प्रतिनिधिसभाले संविधान संशोधन पारित गरेको र त्यस सम्बन्धमा ‘भारतको विदेश मन्त्रालयले वार्ता गर्ने समझदारी उल्लंघन भयो’ भनी टिप्पणी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै सांसद प्रभु साहले किसानले अहिले मलखाद नपाएको,कृषि सामग्री कम्पनीबाट हुने बिक्री वितरणमा पनि भनसुन हुने गरेको जनाउँदै क्वारेन्टिनमा बसेकलाई पीसीआर परीक्षण छिटो हुने व्यवस्था मिलाउन माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले प्रदेश २ को रौतहटमा पीसीआर परीक्षण कम हुने, रिपोर्ट ढिला आउने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै कोरोनाको उपचारमा भएको खर्चको सार्वजनिक गर्न माग गरे ।
सांसद प्रदीप यादवले शनिबार पारित संविधान संशोधनपछि अब सो क्षेत्रको जग्गा कसरी फिर्ता गर्ने सम्बन्धमा ध्यान जानुपर्ने बताए । उनले प्रमाण जुटाउन सरकारले गठन गरेको विज्ञ समितिमा मधेशी र जनजाति समावेश नगरेकोमा आपत्ति जनाए । बैठकमा सांसदहरु लालकाजी गुरुङ, रामकुमारी चौधरी, दुर्गाबहादुर राउत र पदम गिरीले पीसीआर परीक्षण बढाउन माग गरेका थिए ।
त्यस्तै सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।
उनीहरुले विगतदेखि सो क्षेत्रमा आपराधिक घटना हुने र राजनीतिक आडमा दोषी जोगिने प्रवृत्तिलाई रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद उमाशंकर अगरियाले धनुषामा पीडितले प्रहरीसमक्ष किटानी जाहेरी लिन नमान्दा शव परीक्षण हुन नसकेको र घटनाको छानविन गरी दोषीमाथि कारबाही माग गरेका हुन् ।




प्रतिक्रिया