काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित सांसदरूसँग स्पष्टीकरण माग गरेको छ । जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदानमा नेकपाका चारजना सांसद अनुपस्थित थिए ।
उनीहरूलाई पाँच दिनभित्र अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण माग गरिएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
संसदीय दलले पठाएको पत्रमा दलको ह्विप अटेर गरेको आरोप लगाइएको छ ।
‘मिति २०७७/०२/३१ को प्रतिनिधिसभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्विप जारी गरेकोमा उक्त दिन तपाईं प्रतिनिधिसभा बैठकमा बिना पूर्वसूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रकृयामा नै सहभागी नरहनुभएको देखियो । अतः दलको विधान, दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो ? पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दल कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनुहुन निर्देशन गरिन्छ,’ नेकपा संसदीय दलले स्पष्टीकरण माग गर्दै भनेको छ ।
हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम, शिवकुमार मण्डल संसद्मा उपस्थित थिएनन् ।




प्रतिक्रिया