राज्यव्यवस्था समितिको बैठकमा विदेशी बुहारीमाथि कठोर बन्न सांसदहरुको सुझाव

राज्यव्यवस्था समितिको बैठकमा विदेशी बुहारीमाथि कठोर बन्न सांसदहरुको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नागरिकतासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले फरक–फरक मत राखेका छन् । मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सांसद र नेकपाका सांसदहरुले फरक मत राखेका हुन् ।

नेकपाका सांसदहरुले बिहे गरेर नेपाल आउने विदेशीलाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र नागरिकता दिनुपर्ने सुझाव प्रस्तुत गरेका थिए । पुरूषको हकमा समान हुनुपर्ने, १० वर्ष वा १५ वर्षको अवधि राख्नुपर्ने वा दिनै नहुने तीन थरी धारणा नेकपाका सांसदहरूले नै राखेका थिए ।

नेकपा सांसद पम्फा भुसालले विदेशी बुहारीलाई सहजै नागरिकता दिने कुरा स्वीकार्य नहुने बताएकी छन् । उनले भनिन्, ‘हामीलाई पछिल्लो परिघटनाले महिला उदार हुनुपर्छ भन्‍ने कुराको खण्डन गरेको छ । विदेशी बुहारीप्रति उदार हुनुपर्छभन्दा नहुने कुरा रहेछ । त्यो संख्या बहुमत भएको भए नयाँ नक्सालाई आधिकारिकता दिन यस पटक गरिएको संविधान संशोधन के हुन्थ्यो होला ? हामीलाई केही सांसदहरुको व्यवहारले झस्काएको छ ।’

नेकपा सांसद झपट रावलले बुवाको झैं आमाको नामबाट मात्र नागरिकताको अधिकार दिँदा समाजमा व्यभिचार बढ्ने र महिलाले विदेशीका बच्चा जन्माउने अभियान नै चलाउन सक्ने बताएका थिए ।

कांग्रेसका अर्का सांसद देवेन्द्रराज कँडेलले छोरीलाई समान अधिकारका कुरा सिकाउन नहुने नभए परिवार भाँडिने बताएका थिए ।

समिति सभापति शशी श्रेष्ठले सहमति जुट्न नसकेका विषयहरु टुंगो लगाउने प्रयासस्वरुप मंगलबारबाट छलफल सुरु गरिएको बताइन् । अर्को भोली बुधबार बोलाइएको छ ।