एजेन्सी – भारतका विदेशमन्त्री जय शंकर र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।
सोमबार भारतका २० जना सैनिक चिनियाँ सैनिकबाट मारिएपछि विदेशमन्त्री जय शंकरले चिनियाँ विदेशमन्त्रीसँग वार्ता गरेका हुन् ।
भारतले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सोमबार राति भएको हिंसात्मक घटनाप्रति भारतले विरोध जनायो र घटना चीनको उत्तेजक र पूर्वसूचित रणनीतिअन्तर्गत भएको हो, जसले हिंसालाई निम्त्यायो र भारतीय सिपाहीको मृत्यु भयो ।’
यस्तै चीनका परराष्ट्रमन्त्रीले पनि यस मामिलामा चीनको गल्ती नभएको दाबी गरेका छन् । दुई विदेशमन्त्रीले भारत र चीनले नरेन्द्र मोदी र सी चिनफिङबीच भएको सम्झौता पालनामा जोड दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘गाल्वान उपत्यकामा हिंसात्मक झडपपछि उत्पन्न परिस्थिति साम्य पार्न दुवै पक्ष सहमत भएका छन् ।’
विज्ञप्तिअनुसार सैन्य तहका वार्तामा भएको सम्झौताका आधारमा दुवै पक्षले सीमामा शान्ति कायम गर्ने प्रतिबद्धता जनाएको छन् ।




प्रतिक्रिया