नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : अनिलकुमार मोहपात्रा

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : अनिलकुमार मोहपात्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल, भारत र चीनबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताएका छन् ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र त्रिभुवन विश्वविद्यालयस्थित नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तन साझा सरोकारको विषय भएकाले तीन देशबीच प्रभावकारी संयुक्त संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री वालेन्द्र शाहले हालै संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपाल, भारत र चीनले जलवायु परिवर्तन तथा विपद् न्यूनीकरणका लागि संयुक्त संयन्त्र बनाएर काम गर्नुपर्ने प्रस्ताव गरेको उल्लेख गर्दै प्राध्यापक मोहपात्राले उक्त प्रस्तावको स्वागत गरे।

उनले विपद्को कुनै सीमा नहुने भएकाले हिमालय क्षेत्रका तीनै देशले मिलेर जलवायु संकट समाधानमा काम गर्नुपर्ने बताए। हालैको भोटेकोशी बाढीले नेपाल, भारत र चीनका नागरिक प्रभावित भएको उल्लेख गर्दै उनले प्राकृतिक विपत्तिले सीमाभन्दा माथि उठेर सबैलाई समान रूपमा असर गर्ने बताए।

प्राध्यापक मोहपात्राले नेपाल–भारत सम्बन्धलाई राजनीतिक दृष्टिकोणबाट मात्रै हेर्न नहुने बताउँदै यो सम्बन्ध विशिष्ट र बहुआयामिक रहेको उल्लेख गरे। भारतको ‘छिमेक प्रथम नीति’मा नेपाललाई उच्च प्राथमिकतामा राखिनुपर्ने भन्दै उनले उक्त नीति सम्मान, संवाद, शान्ति र समृद्धिमा आधारित हुनुपर्ने धारणा राखे।

कार्यक्रममा सिनासका अध्यक्ष डा. मृगेन्द्रबहादुर कार्कीले नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे चर्चा गरे। उनले शाहवंशीय राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका विदेश नीति तथा ‘दिव्योपदेश’ले नेपाल–भारत सम्बन्ध बुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

त्यस्तै, प्राध्यापक आनन्द आदित्यले नेपाल–भारत सम्बन्ध राजनीतिक विषयमा मात्र सीमित नभई आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धमा समेत आधारित रहेको बताए।