सरकारको कमिशनको बार्गेनिङले चार्टर्ड उडान रद्धः डिला संगौला

सरकारको कमिशनको बार्गेनिङले चार्टर्ड उडान रद्धः डिला संगौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले विदेशमा रहेका नेपालीलाई चार्टर्ड गरेर ल्याउने कुरामा सरकारको कमिशनको बार्गेनिङले नेपाल उडान रद्ध भएको बताएकी छन् ।

विहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘वैदेशिक रोजगार कल्याणकारी कोषबाटै श्रमिकको उद्दार गर्न सर्वोच्च अदालतको आदेश आउछ । तर, केही देशले चार्टर्ड गरेर नेपालीलाई सकुशल पठाउँछौं भन्दै गर्दा सरकारको कमिशनको बार्गेनिङले नेपाल उडान रोकिन्छ । यो अति हो सरकार !’

त्यस्तै उनले कोरोना नियन्त्रण र रोकथाममा सरकारको लापरबाही अति भएको बताएकी छन् ।

सांसद संग्रौलाले भनिन्, ‘१० अर्बको अस्पष्ट र अपुरो हिसाब बुझाउन नपाउँदै चीनबाट फर्काएर खरिपाटी क्वारेन्टिनमा राखिएका नागरिकबाट ‘औषधि नखाइ ७४ लाखको बिल’ प्रकरण बाहिरियो । यो अति हो सरकार !’

सांसद संग्रौलाले मोरङको मंगलबारेमा स्थानीयबासीले बनाएको अस्पताललाई कम्युनिष्टकरण गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामाकरण गरी ऐतिहासिकता र स्थानीय पहिचानलाई मेटाउन प्रदेश एक सरकार उद्धत देखिएको भन्दै स्थानीयलाई आन्दोलन उत्रिन बाध्य पारिएको बताइन् ।

उनले भनिन्,‘सरकारले परिचालन गरेका स्वयंसेवक र स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा राखिएका महिलामाथि कुकृत्य गर्छन् । यो पनि अति हो सरकार ?’

२४ करोडको स्वास्थ्य सामग्रीमा फेरि अनियमितता भएको भन्दै सस्तो मूल्य प्रस्ताव गर्ने ११ कम्पनीलाई छोडेर १२ औँलाई ठेक्का दिएर सरकारले अर्को अति गरेको उनले बताइन् ।