एजेन्सी- लद्दाखको गलवान घांटीमा चिनियां सेनासंगको झड्पमा २० भारतिय सैनिकको मृत्यु भएपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या थपेको छ ।
भारतले सीमावर्ती क्षेत्रमा सैनिक संख्या बढाउँदै सैन्य विमानहरुलाई तयारी अवस्थामा राखेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।भारतको स्थल सेनाको थप टुकडी चीनसँगको सीमा क्षेत्रमा लगिएको छ । अरुणाञ्चल, उत्तराखण्ड, हिमाञ्चल प्रदेश र लद्दाखमा पनि थप सैनिक लगिएको छ ।
भारतीय हवाई फोर्स पनि आधार क्षेत्रमा बढाइएको छ । सिक्किम, आसाम र अरुणाञ्चलमा त्यस्ता फोर्सको संख्या वृद्धि गरिएको बताइएको छ । भारतीय हवाई सेनाका सेनापति आरकेएस भादुरियाले श्रीनगर र लेहको दुई दिने भ्रमण समेत गरिसकेका बताइएको छ ।
भादुरियाको भ्रमणलगत्तै भारतले सीमावर्ती क्षेत्रमा हुने सम्भावित भिडन्तलाई मध्यनजर गर्दै युद्धक विमान तयारी अवस्थामा राखेको बताइएको छ । भारतको नौसैनिक जहाजलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।
हिन्द महासागरमा चीनको नौसैनिक जहाजले नियमित उपस्थिति जनाइरहेकोमा भारतको नौसैनिक जहाज पनि तयारी अवस्थामा राखिएको उल्लेख छ । चीनले गलवान घांटी आफ्नो भुभाग भित्र पर्ने दावी गरेको छ । चिनियां विदेश मन्त्रालयले शुक्रवार सांझ आफ्नो वेभसाइटमा एक प्रेस नोट जारी गर्दै गलवान घांटी वास्तविक नियन्त्रण रेखाको चीनको क्षेत्रभित्र पर्ने दावी गरेको हो ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी झड्प भएको हो। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।




प्रतिक्रिया