अभिभावकलाई विद्यालय सञ्चालकको आग्रहः विद्यार्थी भर्ना गरेर अनलाइन कक्षाको शूल्क तिर्नू

अभिभावकलाई विद्यालय सञ्चालकको आग्रहः विद्यार्थी भर्ना गरेर अनलाइन कक्षाको शूल्क तिर्नू


काठमाडौं – विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरित अनलाइन कक्षाको शुल्क लिने निर्णय गरेका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले लकडाउनको समयको शुल्क दिन आग्रह गरेको हो ।

आइतबार संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको कारणले हाम्रा विद्यालयहरु लगातार बन्द रहँदा विद्यालयको आम्दानी शुन्य भएको, हाम्रा विद्यालयहरुमा आश्रित २ लाखभन्दा बढी शिक्षक कर्मचारी तथा उहाँहरको परिवारको जीवनयापन कठिन भएको अवस्थ छ ।’

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्ना गर्नसमेत आग्रह गरेका छन् । सामाजिक दुरी कायम राखेर नयाँ तथा पुराना विद्यार्थीले अभिलेखीकरण गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’