प्रधानमन्त्रीका लागि ५ करोडको गाडी खरिद हुँदै, कांग्रेसले माग्यो गृहमन्त्रीको जवाफ

प्रधानमन्त्रीका लागि ५ करोडको गाडी खरिद हुँदै, कांग्रेसले माग्यो गृहमन्त्रीको जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ट पार्टीले हालै सत्तारूढ नेकपालाई दिएको आन्तरिक प्रशिक्षणबारे अपाच्य भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले यसमा सत्तारूढ दलको ध्यान जानुपर्ने बताएका छन् ।

उनले भने, ‘उत्तर छिमेकको दलको नेपालमा सत्तारूढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता संतुलन मिलाउन लाग्ने काम उत्तिकै अपाच्य छ ।’

त्यस्तै उनले कोरोना भाइरसको महामारीका बीच सरकारले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका लागि पाँच करोडको गाडी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै गृहमन्त्री जवाफ माग गरेका छन् ।

सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन् ।

सांसद रिजालले गाडि खरिद प्रक्रिया फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको बताए ।

‘असार ३ देखि नेपाल प्रहरीले गाडि खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो ?,’ सांसद रिजालले प्रश्न गरे, ‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फलुज खर्च गर्न सरकारी तयारी हो ? यो जवाफ पाउँ धन्यवाद ।’

त्यस्तै सांसद मीनबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीको बेला घर भाडा लिन नहुने बताएका छन् ।

सांसद विश्वकर्माले अन्तर्राष्ट्रिय विपतका कारण लकडाउन गर्नु परेको भन्दै उनले यो अवधिको आर्थिक कारोबारमा सरकारले विशेष निर्णय लिनुपर्ने उनले बताएका हुन् ।

‘लकडाउन शुरू भएदेखि अन्तिमसम्मलाई शून्य समय मानौं, शून्य समयमा व्यापार ब्यवसाय रहेको घरधनीले घरभाडा नलिने निर्णय गरौ, घरधनीसँग बैंकले ब्याज नलिऔँ । सरकारले कर नलिऔँ, निजी विद्यालयले शुल्क नलिऔँ, निजी विद्यालयका शिक्षकलाई सामुदायिक सरह सरकारले तलव देओस्’ सांसद विकले भने, ‘दैनिक मासिक ज्यालादारी गर्नेलाई मासिक ७ हजार राहात दिऔँ, उद्योग संचालन नभएको समयमा आधा तलव उद्योगले दिओस् ।’