काठमाडौं – प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले जनता तीन वटा कडा भाइरसबाट आक्रान्त रहेको बताएकी छन् । सांसद संग्रौलाले जनता कोरोना भाइरस, भ्रष्टाचार र बलात्कार जस्ता खतरनाक भाइरसबाट गुज्रिरहेको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले ओम्नी समूह, सेनासँग जीटुजी सम्झौता गरी खरिद गरिएको स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार र खरिपाटी क्वारेन्टाइनमा भएका भ्रष्टाचार नेपाली समाजका कलंक भएको बताएकी छन् ।
‘दश अर्बको अस्पष्ट, अपुरो र अधुरो हिसाव पेश गरेर जनता मान्ने वाला छैनन् । प्रधानमन्त्री ज्यू, भ्रष्टाचार गर्दिन भन्नुहुन्न भने भ्रष्टाचारीलाई ढाकछोप नगर्नुहोस् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको लाचार छाँया नवनाउनुहोस् । जनताले तपाइँलाई छोड्ने वाला छैनन्’, उनले भनिन् ।
उनले मुलुक अहिले अत्यन्त कठिन, असहज र जटिल परिस्थितिबाट गुज्रिरहेको बताइन् । सांसद संग्रौलाले प्रधानमन्त्रीले कोरोना वेसार, अदुवा र हाँछ्यू गर्दा निको हुन्छ भन्ने बालहठ प्रदर्शन गर्दै गर्दा उनी आफै डाक्टर, वैद्य, न्यायाधीश र प्रहरी बनेको बताएकी छन् ।
‘सरकार दिनप्रति दिन असंवेदनशील, अकर्मणिय, अनुदार र विवादित बन्दै गइरहेको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नै जिम्मेवार बन्दैनन् भने अरु मन्त्रीको के कुरा गर्ने’, उनले भनिन् , ‘यो पहिलो भाइरस कोरोना जसले विश्व समुदायलाई नै तर्साएको छ, भयभित बनाएको छ । नेपालमा कोरोनाको दर दिन प्रतिदिन बढ्दो छ । यसको नियन्त्रणको लागि सरकारको व्यवस्थापन पक्ष कमजोर र फितलो देखिन्छ । तर मुलुकको प्रधानमन्त्रीले कोरोना वेसार, अदुवा र हाँछ्यू गर्दा निको हुन्छ भन्ने बालहठ प्रदर्शन गर्दै गर्दा उहाँ आफै डाक्टर, वैद्य, न्यायाधिश र प्रहरी बनेको भान हुन्छ । यो विषय आज मजाक बन्न पुगेको छ । कोरोना नियन्त्रणको लागि जनताले सरकारबाट स्पष्ट मार्गचित्र र पहलकदमी खोजेका हुन् तर आफ्नो कमजोरी छोप्न कठित वेसारे आइडोलोजिको ज्ञान जनतालाई मन परेन । उक्ति नै छ भात धेरै चपायो भने तितो हुन्छ ।’
त्यस्तै उनले नेपालमा महिलामाथिको हिंसा र वलत्कार अर्को खतरनाक भाइरस भएको बताएकी छन् । ‘लकडाउनमा हरेक दिन पाँच महिलामाथि बलत्कार भइरहेको छ । घरेलु हिंसाबाट महिलाहरु शिकार भएको, बलत्कार र हिंसाको घटना घटिरहेको प्रतिवेदन सार्वजनिक गरिसकेको छ । नेपालको संविधानले महिला तथा बालबालिकाहरुमाथि कुनै पनि हिंसाजन्य कार्य गर्न नहुने, सुरक्षित र सम्मानजनक जीवन बाँच्न पाउने अधिकारलाई मौलिक हकको विषयमा राखेको छ’, उनले भनिन्, ‘ तर विडम्वना नै भन्नुपर्छ, कैलालीको लम्किचुवा नगरपालिकाको क्वारेन्टिनमा सरकारले खटाएका स्वयम् सेवकहरुबाट नै महिलामाथि सामूहिक बलत्कार हुन्छ भने महिलाको सुरक्षा कहाँ हुन्छ ? सरकारको मौनताको कारण अपराधि खुलेआम शिर ठाडो पारी हिडिरहेका छन्, अपराधिलाई कानुनको कठघरमा ल्याई सजाय दिन सरकार चुकेको छ । त्यसैले महिला हिंसा, बलत्कार जस्ता अमानवीय, घृणित, पासविक घटना तत्काल रोक्न र दोषिलाई कडा भन्दा कडा कारवाही गर्न सभामुख मार्फत् सरकारको ध्यान आकर्षण गराउन चाहन्छु ।’




प्रतिक्रिया