प्रधानमन्त्रीको गुनासोः पार्टीभित्रबाट सरकारलाई खुइल्याउने काम भयो !

प्रधानमन्त्रीको गुनासोः पार्टीभित्रबाट सरकारलाई खुइल्याउने काम भयो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरेपनि चौतर्फी घेराबन्दीमा पारिएको गुनासो गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रबाटै सरकारलाई सहयोग नभएको गुनासो गरेका थिए ।

प्रधानमन्त्री अ‍ोलीले विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला राष्ट्रियताको मुद्धामासमेत सरकारले दह्रो खुट्टा टेकेको बताए ।

‘सरकारले राम्रो प्रयास गरेकैले कोरोना नियन्त्रणतर्फ जाँदैछ, अन्य देशको भन्दा हाम्रो अवस्था राम्रो छ । सरकारले मिलेरै अहिलेको संकटसँग फेस गरिरहेको छ’, उनले भने, ‘अहिलेको परिस्थितिमा सकारात्मक र कमजोर पक्षहरु पार्टी सरकार र समग्र परिस्थितिमा हाम्रो कार्यभारहरु कार्यान्वयनको सम्बन्धमा समीक्षा गरौं । र यो बैठकले सकारात्मक सन्देश दिनेगरी बैठकमा स्वस्थ आलोचनात्मक जिम्मेवारीपूर्व छलफल अगाडि बढाऔं । म तयार छु ।’

त्यस्तै प्रधानमन्त्री ओलीले पार्टीमा गुटबन्दीका कारण सरकारलाई आवश्यक सहयोग नभएको गुनासो पोखे । राष्ट्रियताको मुद्दामा प्रतिपक्षले पनि साथ दिएको अवस्थामा सरकारलाई पार्टीभित्रबाट खुइल्याउने काम भएको प्रधानमन्त्रीको निष्कर्ष छ ।

‘प्रतिपक्षले राष्ट्रियताको विषयमा साथ दिए पनि पार्टी नै प्रतिपक्ष जस्तो भयो । राष्ट्रियताको विषयमा हामीले दह्रोसँग खुट्टा टेकेका छौं । सीमा समस्या समाधान गर्न अब सबैले जिम्मेवार बन्नुपर्नेछ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक नेताले भने ।