सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु

सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकाका २, राजगढ गाउँपालिकाका १ र डाक्नेश्वरी नगरपालिकाका १ जनाको चट्याङ लागेर मृत्यु भएको हो ।

घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ । २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ् लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए ।

यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ । घाइते भएका उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको डीएसपी भारतीले जानकारी दिए ।