काठमाडौं – कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव आफ्नो गाउंठाउंमा व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले बिहीबार प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् ।
पोखरा ३२ मजुवामा सेतीनदी किनार नजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए। स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोडसमेत गरेका छन्।
सशस्त्रको गाडीको सिसा फुटेको छ। प्रहरीले ८ जनालाई नियन्त्रणमा पनि लिएको छ। संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको थियो।
आक्रोशित भीडलाई तितरबितर गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ८ राउन्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले चेकपोस्टमा ढुंगामुढा भएपछि हवाई फायर गर्नुपरेको बताए ।
टायर बालेर बाटो छेकेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । झडपमा २ प्रहरी र केही स्थानीय घाइते भएका छन् । तीनवटा मोटरसाइकलमा क्षति भएको छ । घाइतेको अवस्था सामान्य छ । नेपाल प्रहरी र सशस्त्रको टोलीले अवरोध हटाएपछि सेनाले शव व्यवस्थापन गरेको थियो ।




प्रतिक्रिया