काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आजको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरेका थिए । उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेका थिए ।
बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी बोलेका थिए ।
आजको बैठकमा नेताहरुले चीन र भारतसँगको सीमा विदाबारे आ–आफ्नो धारणा राखेका थिए । केही नेताहरुले भारतले नियमित रुपमा सीमा मिचिरहेका कारण भारतसँगको नाका सील गर्नुपर्ने आवाज उठाएका थिए ।
बैठकमा सहभागी एक सदस्यले उनको भनाई उद्धृत गर्दै भने, ‘भारतले विगत लामो समयदेखि नेपालको भू-भाग अतिक्रमण गरिरहेको छ । अब नेपालले भारतीय सीमा सील गर्नुपर्छ भनेर एक जना कमरेडले भन्नुभएको थियो ।’
प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति सदस्यहरूले लिम्पियाधुरासहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको भन्दै सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएको जानकारी दिए ।
बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारूरूपमा संचालन गर्न भनेको जानकारी दिएका थिए ।
बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) र विविध कार्यसूची छ ।
कार्यसूचीको विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरूको भत्ताका विषय राखिएको छ ।mस्थायी कमिटीको अर्को बैठक भोलि ११ बजे बस्नेछ ।




प्रतिक्रिया