एक किलो सलह किरा समात्नेलाई २५ रुपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

एक किलो सलह किरा समात्नेलाई २५ रुपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह किरा  समात्नेलाई २५ रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शनिबार नेपालमा भित्रिएको सलह किरा समातेर ल्याउनेलाई प्रतिकेजी २५ रुपैयाँ दिने निर्णय गरेको हो ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले अहिले सुदूरपश्चिम प्रदेशमा सलह नभित्रिए पनि पूर्वी तराईमा भित्रिसकेकोले यता पनि आउने सम्भावना रहेको बताएका छन् ।

सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको निर्देशक जोशीले बताए । सलह माछाको आहारका रुपमा प्रयोग गर्न सक्ने उनले बताए ।

सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने उनले जानकारी दिए । मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । ‘अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट गर्‍यो भने रोपाईं नै हुन सक्दैन । सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गर्दछ’, जोशीले भने ।