काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला किन नगरेको भन्दै प्रश्न गरेका छन् । डा. भट्टराईले षड्यन्त्र गर्ने राजदूतलाई प्रधानमन्त्रीले देशनिकाला गर्न किन नसकेको भन्दै प्रश्न गरेका छन् ।
मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘प्रधानमन्त्रीजी कुनै देशको राजदूत(भारतीय राजदूत)ले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ । त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न ? राजदूतलाई तुरून्त देश निकाला किन गर्नु हुन्न ?’
त्यस्तै उनले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले भारत, अमेरिका र चीनसँगको सम्बन्ध बिगारेको आरोप लगाएका छन् ।
उनले नागरिकता विधेयक विभेदकारी भन्दै विरोध पनि गरे । विवाह गरेर आउने महिलालाई सात वर्षको प्रावधान उपयुक्त नभएको उनको भनाइ थियो ।
त्यस्तै उनले विदेशी बुहारी र ज्वाइँमा विभेद गर्न नहुने, तेस्रो लिंगीले नागरिकता लिन जाँदा स्वास्थ्य परीक्षणको रिपोर्ट लैजानुपर्ने भन्ने प्रावधानमा आपत्ति जनाए । दुई वर्षपछिको निर्वाचनमा सिंहदरबारमा झन्डा गाड्ने पनि उनले बताए ।
त्यस्तै उनले कोरोना भाइरसको महामारीलाई प्रधानमन्त्री ओलीले गम्भीर रूपमा नलिएको आरोप लगाएका छन् ।
‘प्रधानमन्त्रीजी कहिले कुनै पार्टी फुटाउने विधेयक ल्याउनुहुन्छ । कहिले बेसुरसँग प्रतिनिधिसभामा हाच्छ्यूँ गरेर कोरोनालाई उडाइदिनुपर्छ भन्ने बेतुकका कुरा गरेर जग हसाउनुहुन्छ,’ उनले भने ।




प्रतिक्रिया