काठमाडौं – नेकपा स्थायी कमिटी बैठकमा एक्लो बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायतका नेताहरुले पार्टी र सरकारबाट राजीनामा दिन आग्रह गरेपछि प्रधानमन्त्रीले नेताहरुसँग सहयोग मागेका हुन् ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट नेता र मन्त्रीलाई बोलाएर उनले आफ्नो पक्षमा पनि मत राखिदिन आग्रह गरेका हुन् । उनले स्थायी कमिटी बैठकमा आफूलाई अपमान गरिएको भन्दै त्यसको पक्षमा वकालत गर्न पनि नेताहरुलाई आग्रह गरेका थिए ।
उनले करिब १५÷१६ जना स्थायी कमिटी सदस्यलाई बोलाएर आगामी रणानीतिबारे छलफल गरेका थिए । प्रधानमन्त्रीले आफूलाई अपमान गर्ने काम भएकाले सहयोग गर्न आग्रह गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनले पार्टीभित्र गम्भीर संकट आएको भन्दै सहयोग मागेका थिए ।
‘पार्टीभित्र संकटको खडेरी देखियो । सरकार र पार्टीबाट राजीनामा दिएर अहिलेको संकट समाधान हुन्छ ?’, प्रधानन्त्रीको भनाई उधृत गर्दै एक नेताले भने, ‘तपाईहरुको पनि केही भूमिका हुनुपर्यो । मलाई अपमान गरियो । सहयोग गर्नुपर्यो ।’




प्रतिक्रिया