काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनबाट स्वास्थ्य सामाग्री ल्याउँदा चार्टर गरेको जहाज भाडा ओम्नी समूहले अझै नतिरेको बताएका छन् ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले ओम्नीले स्वास्थ्य सामग्री ढुवानीको रकम सरकारबाट बुझेर पनि नेपाल वायु सेवा निगमलाई अझै नबुझाएको जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयबाट एक अर्ब ३४ करोडको ठेक्का पाएर चीनबाट स्वास्थ्य सामग्री ल्याएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई) ले जहाज भाडा वापतको रकम तिर्न बाँकी छ ।
उनले ओम्नी समूहले पैसा तिर्नुपर्ने र त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले लिने जानकारी दिए ।
‘ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयमसेवा गर्ने ?’, उनले भने, ‘ओम्नी समूहले पैसा तिर्नुपर्छ, त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालय हुन्छ ।’
‘चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट गत चैतमा टेण्डर पाएको विवादित ओम्नी समूहले अहिलेसम्म ढुवानी बापतको रकम एयरलाइन्सलाई दिएको छैन’, उनले भने, ‘टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी छ । एयरलाइन्सले पनि भाडा लिन बाँकी छ । हामी लिन्छौँ । नेपाल एयरलाइन्सले लिन्छ ।’
त्यस्तै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा निर्माण सम्पन्न हुने दाबी गरेका छन् । मन्त्री भट्टराई निजगढ विनमास्थलको काम सोचे जस्तो गतिमा अगाडि नबढेको बताएका छन् । त्यस्तै उनले कोरोना भाइरसको संक्रमणले पर्यटन क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको बताएका छन् ।




प्रतिक्रिया