प्रधानसेनापतिले जुनियर उपरथीलाई दिए सेनाको अपरेशन कमाण्ड

प्रधानसेनापतिले जुनियर उपरथीलाई दिए सेनाको अपरेशन कमाण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको उपरथी र सहायकरथीमा बढुवा भएका दुई जना सैनिक अधिकारीहरुलाई प्रधानसेनापतिले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रीपरिषद्को असार १५ मा बसेको वैठकले सहायकरथी प्रेम शाहीलाई उपरथीमा र महासेनानी प्रेम बहादुर पुनलाई सहायकरथी दर्जामा बढुवा गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रवार उनिहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी प्रेम शाहीलाई युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायकरथी प्रेम बहादुर पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिईएको छ ।

प्रधानसेनापति थापाले सैनिक परम्परालाई मिचेर जुनियर अधिकृतलाई अपरेशनको प्रमुखको जिम्मेवारी दिएका हुन् । यसअघि सेनामा अपरेशन, सैनिक सचिव र सैनिक सहायकमा क्षमतावान र वरियतामा अघि रहेकाहरुलाई जिम्मेवारी दिने प्रचलन थियो ।

तर, थापाले आफु निकटलाई उक्त जिम्मेवारी दिएका हुन् । प्रधानसेनापतिले यसअघि पनि आफु निकट सैनिक अधिकारीहरुलाई दोहोरो जिम्मेवारी दिएको भन्दै आलोचना हुने गरेको थियो ।

शाहीलाई उपरथीमा बढुवा भएको एक सातामा उक्त जिम्मेवारी दिनुलाई सेनामा भने अर्थपूर्ण रुपमा लिइएको छ । सेनामा वरिष्ठतम् उपरथीलाई उक्त जिम्मेवारी दिने भएपनि उपरथीमा बढुवा भएसंगै प्रधानसेनापति थापाले उनलाई निकट भएकै आधारमा डिजिएमओको जिम्मेवारी दिएका हुन् ।

शाहीलाई यसअघि प्रधानसेनापति थापाले सैनिक सहायकका साथै १० बाहिनीको बाहिनिपतिको जिम्मेवारी दिएका थिए । सेनामा अपरेशन हेर्ने उक्त विभाग निकै शक्तिशाली मानिन्छ । सेनाका सवै पृतनाहरु समेत युद्धकार्य महानिर्देशनालयअन्र्तगत हुने गर्छन् ।

‘सेनाका पृतनाका पृतनापतिहरुले अपरेशन विभागमा रिपोर्टिंङ समेत गर्नुपर्ने हुन्छ । त्यस हिसावले पनि जुनियरलाई त्यहा राख्दा राम्रो सन्देश जांदैन् । अहिले भएका लगभग सवै पृतनापतिहरु उहांभन्दा सिनियर छन् ’ सेनाका एक उपरथीले काठमाडौंपाटीसंग भने ।

त्यसैगरी सैनिक सहायकको जिम्मेवारी पाएका पुन समेत उनकै अफिसमा कार्यरत थिए । पुन हालसालै अमेरिकाबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेर स्वदेश फर्केका हुन् ।