काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालमा प्राकृतिक विपत्तिको जोखिम रहेकाले जोखिमयुक्त स्थानहरुलाई पहिचान गरी त्यहाँका नागरिकहरुलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यस्थापन गरी जनताको जीउधनको सुरक्षाका लागि सरकारसँग माग गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार एक विज्ञप्ति जारी गर्दै क्षति न्यूनिकरणका लागि तत्काल उद्दार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न सरकार समक्ष माग गरेका छन् ।
‘वर्षायाम शुरुवात भए सँगै देशभरका विभिन्न स्थानमा भएको अविरल वर्षाको कारण पहाडी भेगमा बाढी र पहिरो तथा तराई क्षेत्रमा डुवानका घटनाहरु घटिरहेका छन् । यस वर्षको मनसुन शुरु भए देखि बाढी, पहिरो र डुवानका कारण बझाङ्ग, पाल्पा, गुल्मी, स्याङ्जा, गोरखा, लमजुङ्ग, दार्चुला र सल्यान लगायतका स्थानमा हालसम्म करिब दुई दर्जन व्यक्तिले ज्यान गुमाइ सकेका छन् भने केही व्यक्तिहरु घाइते र वेपत्ता रहेका छन् । त्यसै गरी दर्जनौं घरहरुलाई क्षति पु¥याएको छ । मुलुकभर घटिरहेको बाढी, पहिरो र डुवानका दुःखद घटनाप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले बाढी, पहिरो र डुवानमा वेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्दार गर्न, घाइतेहरुको स्वास्थ्य उपचार र विस्थापित भएका घरपरिवारहरुलाई सुरक्षित स्थानमा पुनस्र्थापन गरी राहत विवरणका साथै मृत्यु भएका घरपरिवारहरुलाई उचित क्षतिपूर्ति दिन सरकारसँग कांग्रेस संसदीय दलले माग गरेको छ ।
त्यस्तै बाढी, पहिरो तथा र डुवानमा परी घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जीवन गुमाएकाहरु प्रति कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ ।




प्रतिक्रिया