काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान उपनेता नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।
ओलीले देउवालाई सरकारमा आउन गरेको प्रस्ताव लिएर उपनेता नेम्वाङ देउवा निवास पुगेका थिए । नेता नेम्वाङले सभापति देउवासँग समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई कुनै पनि प्रस्ताव नआएको जानकारी दिए ।
‘कांग्रेस सरकारमा जाने अपेक्षा राख्दैन र अहिले हामीले सरकारमा सोच बनाएका पछि छैनौं । त्यस्तै कुनै प्रस्ताव आएको पनि छैन्’, काठमाडौंपाटीसँग कुरा गर्दै उनले भने, ‘नेम्वाङजी प्रधानमन्त्रीको सन्देश लिएर आउनु भएको थियो ।प्रधानमन्त्रीजीले सरकारमा जाने प्रस्ताव पनि पठाउनु भएको छैन् ।’
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारमा सहभागिता हुने कुरा हल्ला मात्र भएको बताएकी छन् । उनकाअनुसार सभापति देउवाले मिनेन्द्र रिजालसहितका नेताहरुसँग नेम्वाङले भेटावार्ता गरेको विषयमा छुट्टै बैठक गरेका थिए ।
‘आज बिहान नेम्वाङजी प्रधानमन्त्रीको दूतको रुपमा जानु भएको थियो । उहाँ (नेम्वाङ) ले प्रधानमन्त्रीको सन्देश लिएर जानु भएको रहेछ’, उनले भनिन्, ‘मैले सुनेअनुसार सरकारमा सहभागिता हुने विषयमा प्रस्ताव आएको छैन् । गलत हल्ला फैलाइएको रहेछ ।’
प्रधानमन्त्री ओलीले कांग्रेसलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरेको भनेर केही सञ्चारमाध्यमहरुले समाचार सार्वजनिक गरेका थिए ।
केही समय अगाडि प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको थियो । भेटका क्रममा नेकपाभित्र भइरहेको प्रधानमन्त्रीको राजीनामा, सरकारका कामकारबाही र संसदको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया