जाँदाजाँदै आईजीपी ज्ञवालीले भनेः प्रहरीको व्यवहारमा सुधार हुनुपर्छ

जाँदाजाँदै आईजीपी ज्ञवालीले भनेः प्रहरीको व्यवहारमा सुधार हुनुपर्छ

३० वर्षे सेवा अवधि पूरा गरी आईजीपी ज्ञवालीसहित दुई जना वरिष्ठ अधिकृतको बिदाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तीस वर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त भएका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्यायलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई हार्दिक बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए । कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएतापनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिई संगठनमा प्रहरी कर्मचारीको वृत्तिविकास लगायतका विविध सुधारका पक्षलाई गति दिएको उनले उल्लेख गरे ।

‘प्रहरी सेवा नागरिकहरुका लागि हो तर यसमा दुवै पक्षवीचको परस्पर सहकार्य, सदभाव र तालमेल पनि आवश्यक छ’, उनले भने, ‘दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ । प्रहरी कर्मचारीहरुमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।’

लामो र वृहत इतिहास र भविष्य भएको प्रहरी संगठनलाई समाजमा स्थापित गर्न आन्तरिक एकता र नागरिकको विश्वासले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई जोगाउन भावि नेतृत्व अझै प्रयासरत रहनुपर्नेमा उनले जोड दिए ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घ सेवा सम्मान प्रदान गरे । साथै उनले सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पु¥याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।

सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिक इमानदारिता, नेतृत्व क्षमता र सादा जीवनबारे चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सेवानिवृत्त भएपछि पनि संगठनको संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहने समेत बताए ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले उनीहरुलाई हार्दिक बिदाइ गरेका थिए ।