काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भारतीय मिडियाले तोडमोड गरेर समाचार प्रकाशित भएकोमा आपत्ति प्रकट गरेका छन् ।
बुधबार एक भारतीय टिभीलाई अन्र्तवार्ता दिएका यादवले आफ्ना भनाईलाई काँटछाँट गरेर विवादमा ल्याउने उदेश्यले भिडियो सार्वजनिक गरेको दाबी गरे ।
यादवले अन्र्तवार्तमा प्रधानमन्त्री केपी शर्मा ओली हनी ट्र्यापिङमा फसेको कुरा अस्वीकार गर्न नसक्ने बताएका छन् ।
यादवलाई प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीका विषयमा अन्तरवार्तामा सोधिएको छ, ‘कयौं स्रोतबाट यो कुरा आइरहेका छन् । नेपालको कम्युनिष्ट पार्टीभित्र पनि कुरा उठिरहेको छ कि किन चीनका राजदूतको हस्तक्षेपलाई ओलीले बढावा दिइरहेका छन् भनेर । त्यसैले म यो सवाल तपाईंसँग गर्दैछु कि के यो हनी ट्रापको मामला हुन सक्छ ?’
यादवको जवाफ छ, ‘यो कुरालाई इन्कार गर्न सकिँदैन । यसलाई गहिरोसँग हेर्नुपर्ने आवश्यकता छ । मानिसहरुले सवाल उठाइरहेका छन् । यसमा पनि केही तर्क छ ।’
काठमाडौंपाटीसँग कुरा गर्दैै उनले आफूलाई बद्नाम गर्नका लागि मिडियाले बीचबीचमा काटेर सार्वजनिक गरेको बताए । उनले खण्डन गर्दै भने, ‘हनि ट्यापको विषयमा गहिरो अध्ययन गर्नुपर्छ भनेको थिएँ । गहिरो अध्ययन गरेर धारणा बनाउने भन्ने हो । बोल्नुपर्छ भन्ने कुरालाई बीचमा काटिदिएछ । भिडियोमा मैले बोलेको कुरालाई काटेर तलमाथि बनाएको छ ।’
त्यस्तै उनले नेपाल र चीनबीचको सम्बन्ध राम्रो छ र यो अझै राम्रो रहनुपर्ने बताएका छन् । ‘चीन र नेपालको सम्बन्ध अत्यन्त राम्रो छ । त्यसलाई राम्रो गरी अगाडि बढाउनुपर्छ । भारतीय मियिाले दिएको कुरा तोडमोड गरे दिएको छ । बद्मासी गर्यो’, उनले भने ।
उपप्रधानमन्त्री भइसकेको व्यक्तिले देशको बारेमा के बोल्ने भनेर थाहा नपाउने भन्दै सामाजिक सञ्जालमा यादवको चर्को आलोचना भइरहेको छ ।




प्रतिक्रिया