काठमाडौं – ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएका चार जना विरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा एक गर्भवतीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका चिफ अपरेटिङ अफिसर डा. अमिस पाठकले जानकारी दिए ।
संक्रमितहरूमध्ये धापाखेल निवासी २९ वर्षीय गर्भवती महिला छिन् भने अर्का ग्वार्को घर भएका ११ वर्षीय बालक रहेका छन् । उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।
यस्तै ६५ वर्षीय पथ्थरीका समस्या भएका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी सानागाउँ निवासी रहेको अस्पतालले जनाएको छ ।
अर्का संक्रमित भने ललितपुर ठेगाना भएकी ६६ वर्षीया महिला छिन् । अहिले चार जना संक्रमितलाई नै पाटन अस्पताल रिफर गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।




प्रतिक्रिया