काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निर्मम छानबिन गर्न माग गरेका छन् ।
उनले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत आग्रह गर्दै आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूमाथि उठेका प्रश्नका कारण पार्टी, पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक र मतदाताले शिर झुकाउनुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।
‘ममाथि निर्मम छानबिन गरियोस् । आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्,’ उनले लेखेका छन्, ‘मैले कुनै कुकर्म गरेको भए पार्टी, सरकार र राज्यका निकायले गर्ने छानबिनमा सघाउन तयार छु। आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु।’
सुनारले आफूमाथि लागेको आरोपको सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिँदै आफूले कुनै विषयमा प्रश्न उठाएकै आधारमा प्रश्न गर्न नपाइने भन्ने नहुने बताएका छन् ।
तर उनले आफूमाथि आरोप लगाउने भनिएकी महिलामाथि भइरहेको प्रचारप्रसार र व्यवहारप्रति आपत्ति जनाएका छन् ।
राजनीतिक तथा सामाजिक रूपमा सक्रिय महिलामाथि मिडिया ट्रायल गरिएको, अतिरञ्जित प्रचार भएको र अनावश्यक तस्वीर, अडियो तथा भिडियो जोडेर टिप्पणी गरिएको उनको भनाइ छ ।
‘तर राजनीतिक, सामाजिक रूपमा काम गरिरहेकी एक निर्दोष महिलामाथि जुन ढङ्गबाट मिडिया ट्रायल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियो जोडी टीकाटिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन,’ उनले लेखे ।
सुनारले आफूमाथि कुनै गल्ती भएको भए सम्बन्धित निकायले अनुसन्धान गरेर कानुनी कारबाही गर्न सक्ने भन्दै आरोपमा जोडिएकी महिलालाई सार्वजनिक रूपमा लखेट्ने काम उचित नभएको जिकिर गरेका छन् ।
सम्बन्धित महिलाले आफूलाई अन्याय भएको भए आफैँ मुद्दा हाल्ने र आफ्नो जीवनबारे सचेत रहेको बताउँदा बताउँदै पनि घटनालाई अनावश्यक रूपमा सार्वजनिक गरिएको उनले बताए ।
प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बारम्बार बोलाएको र मुद्दा हाल्न भनेको प्रसङ्ग उल्लेख गर्दै सुनारले ती प्रयासपछि पनि महिलामाथि सार्वजनिक टिप्पणी र प्रचार नरोकिएको आशय व्यक्त गरेका छन् ।
उनले आफू र ती महिलालाई एकै झट्कामा सिध्याउने धम्की दिइएको दाबीसमेत गरेका छन् । उक्त धम्की कसले दिएको भन्नेबारे भने उनले आफ्नो लेखाइमा स्पष्ट खुलाएका छैनन् ।
सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष छानबिन र कानुनी कारबाही स्वीकार्य हुने तर आरोपमा जोडिएकी महिलामाथि प्रहरी, राज्य, समाज र सञ्चारमाध्यमबाट दुर्व्यवहार हुनु स्वीकार्य नहुने बताएका छन् ।
‘जे कारबाही हो, ममाथि होस्, मलाई स्वीकार छ । उहाँमाथिको आक्रमण मान्य छैन । त्यो गलत छ,’ उनले लेखेका छन् । यसअघि सार्वजनिक भिडियो उनले उक्त अडियो एआईबाट बनाइएको दाबी गरेका थिए । नक्कली स्वर हालिएको पनि उल्लेख गरेका थिए । तर उनले बुधबार यी दुवै दाबी त्यागेर छानबिनको रटान लगाएका छन् ।
सुनारको यो अभिव्यक्ति उनीमाथि उठेका आरोपको छानबिन गर्न पक्राउ गर्नुपर्ने कुरा आइरहेका बेला आएको हो । तर सत्तारुढ दलका सांसद उनलाई सरकारले सजिलोसँग पक्राउ गर्ने सम्भावना भने कमजोर छ ।


प्रतिक्रिया