काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको सन्त्रासका बीच बाढीपहिरोमा परेका नागरिकको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले बाढी पहिरोमा परेकाहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति हुने क्रम देशभर देखिएपछि देउवाले विज्ञप्ति जारी गर्दै थप मानवीय क्षति रोक्ने गरी कदम चाल्न केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘मुलुक कोरोना कहरको पीडामा रहेको वेला फेरि अर्को प्राकृतिक विपत् बाढी, पहिरोको समेत सामना गर्नुपरेको छ । यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारले सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको र पीडितहरूको जीवन कष्टकर बन्दै गएको देउवाले जनाएका छन् ।
देशभर घटेका प्राकृतिक विपतका घटनाहरूप्रति दुःख व्यक्त गर्दै सभापति देउवाले उद्धार र राहतको कार्यमा खट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘प्रभावित क्षेत्रका नेपाली कांग्रेसका स्थानीय पार्टी निकायहरू तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाहरूलाई पनि पीडित परिवारलाई तत्काल उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुऱ्याउन निर्देश गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया