भारतीय च्यानल बन्द भएपछि सरकारको प्रतिक्रियाः संवेदनशील हुन जरुरी छ

भारतीय च्यानल बन्द भएपछि सरकारको प्रतिक्रियाः संवेदनशील हुन जरुरी छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रशारण रोकेकामा विदेशी च्यानल वितरण मल्टि सिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद व्यक्त गरेको छ ।

शुक्रबार मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी प्रशारण रोकेकोमा धन्यवाद व्यक्त गरिएको हो ।

नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेको मन्त्रालयको ठहर छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिएको छ ।

केही भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर झुटो समाचार प्रशारण गरेका थिए । आरोप र कुण्ठाले भरिएका आधारहीन समाचारलाई लिएर भारतीय टेलिभिजन बन्द गर्नुपर्ने माग उठिरहेको थियो । विहीबार एमएसओले प्रशारण रोक लगाएको थियो ।

मन्त्रालयले भारतीय सञ्चार माध्यमले कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचार प्रकाशन गरेको भन्दै पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने बताएको छ ।

‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।