म्याग्दीमा पहिरोः सेनाको उद्धार टोली घटनास्थल पुग्यो, उद्धार जारी

म्याग्दीमा पहिरोः सेनाको उद्धार टोली घटनास्थल पुग्यो, उद्धार जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो ।

मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले वेपत्ताहरुको खोजी कार्य सुरु गरेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले काठमाडौंपाटीलाई जानकारी दिए ।

‘बिममा गएको पहिरोमा उद्धार टोली पुगिसकेको छ, मराङमा सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन्, उनले भने, ‘बिमबाट मराङ घटनास्थलमा पुग्न कठिनाई भइरहेकाले कसरी जाने भन्ने तयारी भइरहेका छ ।’

शुक्रबार दुई पटक घटनास्थलतर्फ गएको हेलिकप्टर मौसमको खराबीका कारण भिजिबिलिटी नभएर फिर्ता भएको थियो । पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् ।

मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् ।

गए राति वर्षा नभएको र बिहानसम्म बादल लागेको स्थानीयवासीले बताएका छन् । रघुगङ्गा–३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन् । राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ ।