लुम्बिनीविरुद्ध कर्णालीको ब्याटिङ फ्लप, जित्नै पर्ने दबाबबीच १०५ रनमै समेटियो

लुम्बिनीविरुद्ध कर्णालीको ब्याटिङ फ्लप, जित्नै पर्ने दबाबबीच १०५ रनमै समेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को २३औँ खेलमा कर्णाली याक्स लुम्बिनी लायन्सविरुद्ध १०५ रनमै समेटिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमायो। लुम्बिनीले जितका लागि १०६ रन बनाउनुपर्नेछ।

कर्णालीको सुरुवात निकै खराब रह्यो। टोलीले ४.३ ओभरमा १५ रन जोड्दा चार विकेट गुमाइसकेको थियो। दीपेन्द्र रावत खाता नखोली आउट भए भने दीपक डुम्रे र अरिफुल इस्लामले समान चार रन बनाए। कार्यवाहक कप्तान डेभिड मिलर पाँच रनमा पेभेलियन फर्किए।

सोमपाल कामी र पवन सर्राफले पाँचौँ विकेटका लागि ४० रन जोड्दै इनिङ्स उकास्ने प्रयास गरे। सोमपालले १८ बलमा चार चौका र एक छक्कासहित २८ रन बनाए। पवनले २४ बलमा १२ रन जोडे। सोमपाल आठौँ ओभरमा आउट भएपछि कर्णालीले फेरि लगातार विकेट गुमायो।

हुसेन तलतले २२ बलमा दुई चौका र एक छक्कासहित २४ रन बनाए। गुलशन झाले १४ बलमा १३ रन जोडे। अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्।

लुम्बिनीका डार्सी सर्ट, अभिषेक गौतम, रोहित पौडेल र किशोर महतोले समान दुई विकेट लिए। शेर मल्ल र रुबेन ट्रम्पेलमानले एक–एक विकेट हात पारे।

प्लेअफको सम्भावना कायमै राख्न कर्णालीलाई यो खेल जित्नैपर्ने दबाब छ। खेलअघि पाँच खेलबाट दुई जित र तीन हारसहित कर्णाली तालिकाको सातौँ स्थानमा थियो।

लुम्बिनी पाँच खेलमा तीन जित, एक हार र वर्षाका कारण एक खेलमा अंक बाँड्दै तेस्रो स्थानमा रहेको थियो। एनपीएलको आजै भएको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई चार विकेटले हराएको थियो।