म्याग्दी पहिरो अपडेट :मृतकको संख्या २७ पुग्यो

म्याग्दी पहिरो अपडेट :मृतकको संख्या २७ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेको हो ।

चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी-६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् ।

यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अ. ७ वर्षकी करिश्मा, अ. ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनकी छोरी ४ वर्षकी दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।

प्रहरीका अनुसार धवलागिरी-६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ वर्षा सविन पुन हराइरहेका छन् । हराएका भनिएका मराङ रिखाका अन्दाजी ४० वर्षका धनबहादुर जुग्जाली, अ. १५ वर्षकी रितु कुमारी र अ. ५ वर्षका अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।

यस्तै मालिका गाउँपालिकामा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । प्राप्त विवरणअनुसार मालिका-७ विमका ४० वर्षका विष्णु पौडेल, ४ वर्षकी इच्छा पौडेलको मृत्यु भएको छ । यस्तै गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली , सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ । यस्तै रघुगंगा गाउँपालिका-६ ठाडाखानीका अन्दाजी ५० वर्षका नलिमान छन्त्यालको पनि शव भेटिएको छ । प्रहरीका अनुसार १२ जनालाई उद्दार गरिएको छ ।

बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् । पहिरोमा परेर घाइते भएका मराङका दुई र बिमका एक जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ । मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र सात वर्षीय सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ ।