बाढीले बगाएर श्रीमान–श्रीमतीसहित पाँच जना बेपत्ता

बाढीले बगाएर श्रीमान–श्रीमतीसहित पाँच जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् ।

बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ ।

बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाट नजिक शनिबार उनीहरु बगेर बेपत्ता भएका हुन् ।

ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् ।

शनिबार साँझ मण्डनदेउपुर नपा–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको वडाध्यक्ष विष्णु नेपालले बताए । उनका अनुसार शुक्रबार दिउँसो स्थानीय दीपक नेपालीका १२ वर्षीय छोरा अभिषेक इन्द्रावती नदीमै बेपत्ता भएका हुन् । अभिषेक साथीसँगै नदी तर्ने क्रममा बेपत्ता भएका हुन् ।

माझीको सिन्धुपाल्चोकको ¥यालेमा पनि घर भएका कारण रोपाइँ सकेर साँझ घर फर्कँदा नदी तर्ने क्रममा लामा र माझीलाई बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै नेपालले बताए । उनले भने, ‘राति अबेरसम्म उनीहरुको खोजी गरियो, आज बिहानदेखि पुनः खोजीकार्यमा जुटेका छौँ, तर भेट्टाउने सम्भावना न्यून देखिन्छ ।’ उनका अनुसार शनिबार साँझदेखि स्थानीय प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरसमेतले खोजी गर्दा भेट्टाउन सकेको छैन ।

अविरल वर्षाका कारण नदीको बहाव बढिरहेकाले खोजीमा निकै कठिनाइ भइरहेको नेपालले बताए । ‘आज पनि बिहानैदेखि पानी परिररहेको छ, तर पनि हामी प्रयासरत छौँ’, नेपालले भने । उनले स्थानीय विपद् व्यवस्थापन समिति, प्रहरी, स्थानीयवासी तथा जनप्रतिनिधिको संलग्नतामा खोजी भइरहेको बताए । दुई जिल्लाको सीमा भएर बग्ने इन्द्रावती नदीको बीचमा सयौँ रोपनी खेत भएका कारण बर्सेनि वर्षायाममा मानिसका साथै खेतसमेत बगाउने गरेको छ ।

यसैबीच अविरल वर्षाका कारण सात घर पहिरोको जोखिम भएकाले वडा कार्यालयले राहत उपलब्ध गराएको छ । सात परिवारलाई राहतसहित अन्यत्रै सारिएको वडाध्यक्ष नेपालले बताए । उनका अनुसार वर्षा अझै लम्बिँदा सो वडामा थप घर जोखिममा पर्ने देखिएको छ ।