यातायात मजदूरको राहतको सुविधाबारे सरकारसँग पहल गर्छुः अध्यक्ष प्रचण्ड

यातायात मजदूरको राहतको सुविधाबारे सरकारसँग पहल गर्छुः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यावसायीको बैंकको किस्तालाई रोक्ने र रहानतका प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

बिहीबार बिहान खुमलटारमा ज्ञापनपत्र बुझाउन पुगेका यातायात व्यावसायीहरुका माग सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यातायात व्यावसाय सञ्चालनका लागि पुनःकर्जा, अनुदान र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन् । कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको छ । यहाँ पनि यातायात व्यवसायी र मजदूरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु । बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ ।’

यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो । व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए ।

व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था मिलाउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ ।