माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको मृत्यु

माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उहाँका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दैै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ ।