एकैपटक १ हजार २ सय ९६ सशस्त्र प्रहरी जवान दीक्षित

एकैपटक १ हजार २ सय ९६ सशस्त्र प्रहरी जवान दीक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालका विभिन्न तालिम शिक्षालयमा सञ्चालित सि।सं। २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिममा सहभागी १ हजार २ सय ९६ जना प्रशिक्षार्थी जवान दीक्षित भएका छन्।

राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा अन्य नौ वटा शिक्षालयमा २०८२ साल मंसिर १९ गतेदेखि सञ्चालन भएको करिब १० महिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेपछि उनीहरू असोज २९ गते दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गरेका हुन्।

दीक्षित हुनेमा प्रशिक्षण प्रतिष्ठान मातातीर्थका १२३ जना, पाथिभरा जवान तालिम शिक्षालय झापाका ११७ जना, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीका ११६ जना, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीका २३३ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका ११९ जना छन्।

त्यस्तै, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका ११५ जना, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटका १२५ जना, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ताका ११६ जना, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टिकापुरका ११३ जना र बडिमालिका जवान तालिम शिक्षालय वनवेहडा, कैलालीका ११९ जना दीक्षित भएका छन्।

तालिमका क्रममा प्रशिक्षार्थीहरूले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, फौजी कला–कौशल र व्यावसायिक दक्षता हासिल गरेका छन्। यसबाट उनीहरूमा अनुशासन, इमान्दारिता, कर्तव्यनिष्ठा, राष्ट्रप्रतिको समर्पण, मानवीय संवेदनशीलता तथा संगठनात्मक जिम्मेवारीबोध विकास भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

दीक्षित जवानहरूले कार्यक्षेत्रमा व्यावसायिक मर्यादा र उच्च नैतिक आचरण कायम राख्दै राष्ट्र तथा नागरिकको सेवामा समर्पित भएर काम गर्ने अपेक्षा गरिएको छ। उनीहरूको कार्यक्षेत्र प्रवेशसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा लगायत सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएका महत्वपूर्ण जिम्मेवारीमा थप जनशक्ति उपलब्ध भएको छ।

नेपाल सरकारको आर्थिक सुशासन तथा पारदर्शिताको नीतिअनुसार आधारभूत तालिमका दीक्षान्त कवाज मितव्ययी ढंगबाट सम्पन्न गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

पाथिभरा जवान तालिम शिक्षालय झापा र युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सञ्चालित आधारभूत तालिमको दीक्षान्त कवाज क्रमशः सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगर र अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

त्यस्तै, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापा, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा विष्णुप्रसाद भट्ट, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा राजेन्द्र खड्का, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा प्रविण कडेल, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा किरण बस्नेत, नौबस्ता जवान तालिम शिक्षालयमा दीपक अधिकारी, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टिकापुरमा दीपेन्द्र कुँवर र बडिमालिका जवान तालिम शिक्षालय वनवेहडा, कैलालीमा नेत्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा दीक्षान्त कवाज सम्पन्न भएको थियो।

Skip This