किशोर श्रेष्ठसँग सहयोग माग्दै जनआस्था पुग्यो सांसद सुनारबारेको रास्वपा छानबिन टोली

किशोर श्रेष्ठसँग सहयोग माग्दै जनआस्था पुग्यो सांसद सुनारबारेको रास्वपा छानबिन टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधि सभाका सांसद खगेन्द्र सुनारले एकजना महिला र उनका छोरामाथि गरेको अपमानपूर्ण र आपत्तिजनक व्यवहारबारेका अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन समिति बनाएको छ।

पूर्वन्यायाधीश लेखनाथ पौडेल नेतृत्वको रास्वपा अनुशासन आयोगले अधिवक्ता हरिचन्द्र भट्टराई नेतृत्वको छानबिन समिति बनाएको हो । अध्यक्ष पौडेलद्वारा आयोगका उपाध्यक्ष भट्टराईको नेतृत्वमा गठित छानबिन समितिले उक्त प्रकरणबारे धमाधम प्रमाण संकलन थालेको छ।

यही असोज २७ मा रास्वपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइसकेको छ। पूर्वराज्यमन्त्रीसमेत रहेकी एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन अघि बढाउँदै सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो ।

रास्वपाका महामन्त्री विपिन आचार्यले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको बताएका थिए । उनको भनाइअनुसार नै रास्वपाले खगेन्द्रमाथि आन्तरिक छानबिन थालेको हो ।

रास्वपाले उक्त छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सांसदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइसकेको छ। उक्त छानबिन नसकिएसम्म उनले संसद्मा पनि प्रवेश पाउने छैनन्।

‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ’, आचार्यले भनेका थिए ।

आचार्यको उक्त वक्तव्य बमोजिम नै खगेन्द्रमाथि आन्तरिक छानबिन तीव्र पारेको रास्वपाले अनुशासन आयोगका उपाध्यक्ष भट्टराई नेतृत्वको समितिलाई सक्रिय बनाएको हो ।

अधिवक्ता भट्टराईको नेतृत्वमा बनेको छानबिन समितिले बिहीबार मात्रै खगेन्द्रले ती महिलामाथि दुर्व्यवहार र अपमानजनक गाली गलौज गरेको अडियो सार्वजनिक गरेको जनआस्था अनलाइनको ठाडो ढुंगास्थित कार्यालयबाट आवश्यक प्रमाण संकलन गरेर गरेको छ।

‘अधिवक्ता भट्टराई नेतृत्वमा छानबिन समितिका ६/७ जना आएका थिए । उक्त छानबिन समितिले जनआस्थाबाट खगेन्द्र मुछिएको प्रकरणको सबै अडियो, भिडियो र कागजातहरू पछि फिर्ता गर्ने गरी लिएर गएको छ’, जनआस्था साप्ताहिकका किशोर श्रेष्ठले भने, ‘हामीलाई छानबिन समितिले बिनादबाब, बिना कसैको प्रभाव र बिनाहस्तक्षेप दूधको दूध पानीको पानी छुट्याउने बाचा दिएको छ।’

समितिले यस प्रकरणमा आफ्नो तर्फबाट खगेन्द्रबारेका सबै प्रमाणमाथि कुनै धोकाधडी या छेडखानीनहुने बचनसमेत दिएको श्रेष्ठले बताएका छन् ।

‘छानबिन समितिको टोली हाम्रो कार्यालयमा आएको थियो । हामीले टोलीलाई पूरा सहयोगसहित संकलित सबै प्रमाण उपलब्ध गराएका छौँ’, उनले भने, ‘संकलित सबै प्रमाणबाट ती महिला र बालकमाथि थप अपमान र अत्याचारको शिकार नहुने ग्यारेन्टी पनि समितिले दिएको छ।’

के हो घटना ?

पछिल्लो समय प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि विभिन्न आरोप लगाएर चर्चामा आएका सुनार असोज २६ गते गम्भीर विवादमा परेका थिए ।

उनलेे बागमती प्रदेशकी एकजना महिला सांसद एवम् पूर्वमन्त्रीमाथि अश्लील गालीगलौज र धम्की दिएको अडियो जनआस्था अनलाइनले गत सोमबार सार्वजनिक गरेको थियो ।

जुन अडियोमा उनलेे ती महिला सांसदलाई अनेकन आर्थिक दबाब दिँदै निजी जेसुकै गरिदिने धम्कीसहित गोप्य भिडियोमार्फत ब्ल्याकमेलिङ गरेको आरोप लागेको थियो । उक्त अडियोमा सुनारले आमरूपमा सुन्नै नसक्ने गालीगलौज ती महिलालाई गरेका थिए । जसले उनी गम्भीर विवादमा तानिए ।

सोमबार प्रकाशित जनआस्था साप्ताहिकको अनलाइन संस्करणमा सुनारको भएको दाबी गरिएका चारवटा अडियो संवादमा एक महिला पूर्वसांसदसँग आपत्तिजनक भाषा प्रयोग गरिएको, पैसा मागिएको र ज्यान मार्ने धम्की दिइएको सुनिन्छ।

ती महिला बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीसमेत रहेको उल्लेख छ। अडियो संवादमा महिलाले सुनारले आफ्नो अश्लील भिडियो बनाएको र त्यसपछि निरन्तर मानसिक तथा शारीरिक यातना दिएको गुनासो गरेकी छन्।

उनले कुटपिट गर्ने, काट्ने र मार्ने धम्की दिएको तथा पैसा नदिँदा थप दुर्व्यवहार हुने गरेको बताएकी छन्।

अडियोमा सुनारले महिलालाई निश्चित समयभित्र पैसा उपलब्ध गराउन दबाब दिएको र राजीनामा दिएर संसदीय दलमा बुझाउन निर्देशन दिएकोसमेत सुनिने समाचारमा उल्लेख छ। महिलाले आफूले भोगिरहेको यातनाबारे प्रश्न गर्दा सुनारले आपत्तिजनक जवाफ दिएको दाबी पनि समाचारमा गरिएको थियो ।

यस्तै, ती महिलाले तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेसमक्ष समेत आफ्नो पीडा राखेर सुनारलाई सम्झाइदिन आग्रह गरेको जनआस्थाले उल्लेख गरेको थियो।

पाण्डेले आफू मुख्यमन्त्री हुँदा एक महिलाले पतिबाट कुटपिट भएको भन्दै उजुरी गरेको प्रसंग सुनाउँदै त्यसबेला घटनाबारे सोधपुछ गरिएको बताएका छन्। तर, उक्त घटनामा आरोपित व्यक्ति अहिलेका सांसद सुनार नै भएको आफूलाई जानकारी नभएको उनको भनाइ छ।

बैंकिङ कारोबारमाथि पनि प्रश्न

समाचारमा सुनारका विभिन्न बैंक खातामा भएका वित्तीय कारोबारमाथि समेत प्रश्न उठाइएको छ। सिटिजन्स, एनआईएमबी, महालक्ष्मीलगायतका बैंक खातामा बेलायत, जापान र भारतसहित विभिन्न देशबाट लाखौँ रुपैयाँ आएको विवरण देखिएको छ। यद्यपि, ती रकम कुन प्रयोजनका लागि पठाइएका हुन् भन्ने स्पष्ट भएको छैन।

Skip This