भारतमा नेपाली युवकमाथि दुर्व्यवहार, कपाल मुण्डन गरेर लेखियो ‘जय श्रीराम’

भारतमा नेपाली युवकमाथि दुर्व्यवहार, कपाल मुण्डन गरेर लेखियो ‘जय श्रीराम’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा एक नेपाली युवकको कपाल मुण्डन गरेर दुर्व्यवहार गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।

ती युवकको कपाल मुण्डन गरेर शीरमा उक्त संगठनका कार्यकर्ताहरुले ‘जय श्रीराम’ लेखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र श्री रामबारे दिएको विवादित अभिव्यक्तिपछि भड्किएका भारतीयहरुले नेपालीमाथि दुर्व्यवहार गरिरहेको छन् । उनीहरुले नेपाली युवकबाट जवरजस्ती आफ्नो संगठन र भारतको समर्थन र नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको आजतकले जनाएको छ ।

हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले उक्त घटनाको भिडियोे सामाजिक सञ्जालमा भाइरल गरेको छ । भिडियोमा गंगा घाटको दृष्य देखिन्छ । उक्त भिडियोमा नेपाली युवकका पछाडिबाट कार्यकर्ताहरु संगठन र हिन्दुस्तान जिन्दाबादको नारा लगाइरहेको देख्न सकिन्छ ।

भिडियोमा ती संगठनका कार्यकर्ताहरुले युवकबाट ‘नेपाली प्रधानमन्त्री ओली मुर्दाबाद’ को पनि नारा लगाउन दबाब दिएका छन् ।  हिन्दुवादी संगठनले नेपाली युवकमाथि दुर्व्यवहार गर्नुभन्दा अघि बिहीबार बिहान वाराणसीको चोक क्षेत्रमा रहेको नेपाली मन्दिर बाहिर चेतावनीयुक्त पोस्टर लगाएको थियो ।

पोस्टरमा लेखिएको थियो, ‘नेपाली पीएम ओली प्रभु श्रीरामविरुद्धको बयान फिर्ता लेउन, अन्यथा यसको परिणाम भारतमा रहने नेपालीहरुले भोग्नुपर्ने छ ।’ भिडियो भाइरल भएपछि स्थानीय प्रहरीले हिन्दुवादी संगठनका अध्यक्ष र घटनामा सहभागी उनका कार्यकर्ताहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केहि दिन पहिले प्रधानमन्त्री ओलीले अयोध्या नेपालको भूमि भएको ह भगवा श्रीराम नेपाली भएको विवादित अभिव्यक्ति दिएका थिए ।