काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको मण्डनदेउपुरकी सरिता दुलाल हत्या प्रकरणमा जिल्ला अदालतले श्रीमान् सुदीप दुलाललाई जन्मकैदको फैसला सुनाएको छ ।
परिवार नै मिलेर बुहारीको हत्या गरेको अभियोगमा २०७६ जेठ ७ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सिपाघाटका परिवारका पाँच जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।
सरिताका श्रीमान् सुदीप दुलाललाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७६ असार २१ गते दोषी ठहर गरेको थियो । जिल्ला न्यायाधीश दुर्गा खड्काको इजलाशले जन्मकैदको सजाय सुनाउँदै अन्य चार जनालाई सफाई दिने फैसला गरेको छ ।
मण्डनदेउपुर नगरपालिका वडा नम्बर ४ घर भएकी २५ वर्षीया सरितालाई मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ बस्ने ६३ वर्षीय पिताम्वर दुलाल, उनका छोरा २५ वर्षीय सुदीप दुलाल, श्रीमती ६५ वर्षीया रोमकुमारी दुलाल, अर्का छोरा ३६ वर्षीय केशव प्रसाद दुलाल, केशवकी श्रीमती ३५ वर्षीया संगिता दंगाल (दुलाल) सहितलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) अभियोगमा मुद्दा दायर भएको थियो ।
मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिताको आफ्नै घरमा घाँटी थिचेर हत्या गरिएको थियो ।




प्रतिक्रिया