भोटेकोशी पीडितको राहत र पुनस्र्थापनाबारे सभामुखको चासो

भोटेकोशी पीडितको राहत र पुनस्र्थापनाबारे सभामुखको चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले भोटेकोशी बाढी, पहिरो र लगातारको वर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र राट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी लिएका छन् ।

सभामुख सापकोटाले प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग सो क्षेत्रको जोखिम र नियन्त्रणका लागि भइरहेको पछिल्ला प्रयासबारे जानकारी लिएका हुन् । सो अवसरमा सभामुख सापकोटाले विपद् भएलगत्तै गरिने राहत, उद्धार र पुनस्र्थापनाको तयारीबारे पनि चासो राखेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ को भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लामा गरेको पहिरोसम्बन्धी तथ्याङ्कका आधारमा सिन्धुपाल्चोक पहिराका दृष्टिकोणले सबैभन्दा जोखिममा रहेको प्रमुख पोखरेलले बताए ।

तिब्बतको ‘केरुङ च्छो’ तालमा पानीको मात्रा घटेको सूचना आएकाले तत्कालका लागि फुट्ने खतरा टरेको जानकारी दिँदै प्रमुख पोखरेलले प्राधिकरणले तालमा पानीको मात्रा, ताल फुटेमा त्यो पानी नेपाली भूूभागसम्म आइपुग्न लाग्ने समय र सम्भावित क्षतिबारे पनि अध्ययन गरिरहेको बताए ।

सिन्धुपाल्चोक जिल्लाभित्र पनि भोटेकोशी गाउँपालिका पहिराका कारण उच्च जोखिममा रहेकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताउँदै प्रमुख पोखरेलले जोखिमयुक्त गाउँ, बस्ती र घरधुरीलाई त्यहाँको जोखिमबारे जानकारी दिने तयारी भइरहेको जानकारी दिए ।

सभामुखसँगको उक्त छलफलमा नेकपा केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा र भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाभित्र बाढीपहिराले गरेको क्षति र प्रभावित स्थानीयवासीले भोग्नुपरेको अप्ठेरोबारे जानकारी दिएका थिए ।