स्विस सरकारले दियो नेपाललाई २० हजार पीसीआर किट

स्विस सरकारले दियो नेपाललाई २० हजार पीसीआर किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्विटजरल्याण्ड सरकारले नेपाललाई कोरोना संक्रमण परीक्षण गर्न २० हजार टेस्ट किट सहयोग गरेको छ । कोरोना संक्रमण परीक्षणमा सहयोग भन्दै नेपालस्थित स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सो किट हस्तान्तरण गरेकी हुन्।

बाँकी २० हजार थान अगस्ट महिनामा नेपाल आइपुग्ने स्विस दूतावासले जनाएको छ । नेपालस्थित स्विस दूतावासका अनुसार स्वीस सरकार विकास सहयोग (एसडीसी) मार्फत स्विस सरकारले नेपाललाई ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

कोभिड–१९ को राहत र पुनर्स्थापनाको लागि एसडीसीले विराटनगरको कोशी कोभिड अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टम स्थापना गरेको छ । त्यस्तै उदयपुरको आइसोलेसन निर्माणको अनुमानित ३ करोड २० लाख रुपैयाँको करिब आधा १ करोड ५० लाख पनि सहयोग गरेको स्विस दूतावासले जनाएको छ ।

स्विस राजदूत एलिजावेथ भनिन्, ‘पहिलो लटको ४० हजार मध्येको २० हजार पीसीआर टेस्ट किट्सले नेपाललाई अहिले बढिरहेको पीसीआर टेस्टिङको मागलाई पूरा गर्ने दिशामा सहयोग गर्नेछ ।’