काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी आन्दोलनलाई समाप्त पार्ने मूर्खता नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् ।
कार्यक्रममा नेता नेपालले कम्युनिष्ट पार्टी फुट्छ भनेर चिन्ता नगर्न पनि आश्वास्त पारेका छन् । उनले यदी नृकपा फुटे पनि चौइटिएर मात्र जाने बताएका छन् । नेता नेपालले भ्रम पैदा गर्ने वा कुप्रचार गर्नेको पछि नलाग्न पनि आग्रह गरेका छन् ।
‘आफूसँगसँगै आन्दोलनलाई नै समाप्त पार्ने मूर्खतापूर्ण काम कसैबाट नहोस् । त्यो मूर्खतापूर्ण काम कसैले पनि गर्दैन’, उनले भने, ‘तपाईंहरूलाई चिन्ता छ कम्युनिस्ट पार्टी फुट्छ कि भनेर, फुट्दैन । कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिस्ट पार्टी फुट्नेवाला छैन ।’
नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन पहिलो पुस्ताका नेताहरूको योगदान रहेको चर्चा गर्दै अबको नेतृत्वले सम्भव नभए दोस्रो र तेस्रो पुस्ताले नेतृत्व हाँक्ने बताए ।
‘अब यो दोस्रो पुस्ताले सकेन भने तेस्रो र त्यसपछिका पुस्ता आँखा चिम्लेर बस्दैन, बस्नु पनि हुँदैन । निराश भएर बस्नुपर्ने कुनै आवश्यकता छैन । कोही कसैको दास भएर बस्न सक्दैन । नियति यस्तै हो भनेर टाउको समातेर बस्न सक्दैन’, उनले भने ।
नेता नेपालले काम व्यवहार र विचारको अगुवाइ नेकपाले गर्नुपर्ने बताएका छन् ।
‘नेपाली राजनीतिमा अरूले त्यस्तो गर्न सक्दैन । नेपाल कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्छ । त्यो विरासतलाई कुशलताका साथ अगाडि बढाएर लैजानुपर्छ । युद्धकालमा जस्तै त्याग तपस्या हुनुपर्र्छ’, उनले भने, ‘युद्धकालीन त्याग सत्तामा गएका बेला बिर्सन मिल्दैन । हामीमा त्यही त्याग त्यही तपस्या भएन भने आन्दोलन विसर्जनबाहेक अन्त जाँदैन । जनताले हामीलाई दिएको जिम्मेवारी इमान्दारपूर्वक पालना गर्नुपर्छ ।’
उनले थपे, ‘विधिको पालना नगरेर ‘मै स्टेट हुँ’ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो, आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्न थालियो, आफूबाहेक दुनियाँमा कसैको अर्थ छैन भन्ने ठान्न थालियो, त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुनेबाहेक अर्को केही पनि हुँदैन ।’
त्यस्तै उनले पार्टीभित्रको समस्यालाई छलफलबाट समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए ।
बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ भन्ने कुरालाई सबैले पालना गर्नुपर्ने उनले बताए । ‘म मान्दिन भन्ने छुट कसैलाई पनि छैन । सबैमा यो चेत पलाउनेछ । हामी सबैले जिम्मेवार भएर सोचौं । आफूलाई अपरिहार्य नठानौं, सबैको बुद्धि, खुबी, क्षमता, योग्यता र आ–आफ्नो भूमिका सम्झेर अगाडि बढौं र कमीकमजोरी सुधारौं,’ उनले भने ।




प्रतिक्रिया