काठमाण्डु – वन तथा वातावरणमन्त्री शक्तीबहादुर बस्नेतले चितवनको माडी नगरपालिकामा रहेको कुसुमखोलाका चेपाङको घरमा आगजनी गरिएको विषयमा आफ्नो भनाई बंग्याएर सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन् ।
आइतबार मन्त्री बस्नेतले ‘चेपाङको घर नभई मचानमा आगो लगाएको’ विषयमा प्रकाशित भ्रमपूर्ण समाचारको खण्डन गरेका छन् । मन्त्री बस्नेतले चेपाङको घरमा आगजनी गर्नेमाथि कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।
‘अबको २/३ दिन भित्र समितिले प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदन सहित विभिन्न क्षेत्रबाट भईरहेको अध्ययनको निश्कर्षहरुलाई समेत ध्यान दिदै मन्त्रालयले आधिकारिक धारणा प्रस्तुत गर्नेछ । गल्ति कमजोरीको ढाकछोप होईन उचित कारवाहि गर्न मन्त्रालय सहित सरकार प्रतिवद्ध छ’, उनले भनेका छन् ।
मन्त्री बस्नेतले अहिलेको समय र परिस्थितिमा आगजनि र हात्तीको प्रयोग उपयुक्त नहुने स्पष्ट पारेको बताएका छन् । ‘स्वयं मन्त्रीकै पहलमा मन्त्रालयले छानविन समिति बनाएर पठाएको अवस्थामा उक्त रिपोर्ट नआउँदै मन्त्रीले आफ्नो निश्कर्ष प्रस्तुत गर्नु उपयुक्त नहुने कुरालाई ध्यानमा राखेर मेरो ब्यक्तिगत निश्कर्ष र मन्त्रालयको धारणा समितिमा प्रस्तुत गरिएको थिएन’, मन्त्री बस्नेतले भनेका छन् ।
यस्तो छ उनको विज्ञप्तिः
यहि श्रावण २ गते चितवन माडी नपाको कुसुमखोला क्षेत्रमा भएको घट्ना सम्बन्धमा हिजो कानुन तथा मानवअधिकार समितिमा भएको छलफलका क्रममा उठेका विषय सन्दर्भको अंशलाई लिएर कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएका समाचार र प्रतिक्रिया हेर्दा आश्चर्य लागेको छ ।
हिजो छलफलको क्रममा घर र गोठको सन्दर्भमा मैले भनेको कुरा यो थियो कि चेपाङ्ग बस्तिमा काजिमान प्रजाको परिवार बस्ने घर भन्दा अलग्गै रहेको निजकै गोठमा आगजनि भएको र मकै हेर्नका लागि बनाएका अन्य केहि ब्यक्तिको मचानहरु समेत भत्काएको भन्ने प्रारम्भिक रिपोर्ट मन्त्रालयमा प्राप्त भएको छ।घट्ना एवं विषयको गंभिरता र संवेदनशिलतालाई ख्याल गरेर मन्त्रालयको तर्फबाट तत्काल छानविन समिति बनाई फिल्डमा खटाईएको र उहाहरुको रिपोर्ट आईसके पछि मन्त्रालयको समग्र धारणा समितिमा राख्ने कुरा गरेको थिए। अझ परिस्थितिको गंभिरतालाई ध्यान दिदै कानुन तथा मानवधिकार समितिलाई समेत थप अध्ययनको लागि टिम पठाउनको लागी समेत अनुरोध गरेको थिएँ ।
परिवर्तित समय र परिस्थितिमा आगजनि र हात्तीको प्रयोग उपयुक्त नहुने धारणा पनि ब्यक्त गरेको थिएँ । स्वयं मन्त्रीकै पहलमा मन्त्रालयले छानविन समिति बनाएर पठाएको अवस्थामा उक्त रिपोर्ट नआउदै मन्त्रीले आफ्नो निश्कर्ष प्रस्तुत गर्नु उपयुक्त नहुने कुरालाई ध्यानमा राखेर मेरो ब्यक्तिगत निश्कर्ष र मन्त्रालयको धारणा समितिमा प्रस्तुत गरिएको थिएन ।
आज मात्र समितीको टोली काठमाण्डु फर्किएको छ र ,प्रतिवेदनलाई अन्तिम रुप दिने काममा लागिरहेको छ । अबको २/३ दिन भित्र समितिले प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदन सहित विभिन्न क्षेत्रबाट भईरहेको अध्ययनको निश्कर्षहरुलाई समेत ध्यान दिदै मन्त्रालयले आधिकारिक धारणा प्रस्तुत गर्नेछ । गल्ति कमजोरीको ढाकछोप होईन उचित कारवाहि गर्न मन्त्रालय सहित सरकार प्रतिवद्ध छ।
शक्ति वस्नेत
वन तथा वातावरणमन्त्री




प्रतिक्रिया