काठमाण्डु – सरकारले पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी १० हजार जनाको पिसिआर परीक्षण गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गएको २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए । १० हजार परीक्षण गर्दा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै उनले समूहमा बस्नेमा संक्रमण बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना नगरे स्थिति भयावह बन्ने चेतावनी दिएका छन् ।
उनले जनस्वास्थ्यका मापदण्ड नअपनाए अस्पतालमा बेड र आइसियू नपाउने सम्भावना आउन सक्ने बताए ।
लकडाउन खुकुलो भएपछि भिडभाड बढेको, सिराहामा बिहीबार आमसभा भएको र काठमाण्डुमा केही दिनयता सभाहरू भएको प्रसंग उल्लेख गर्दै उनले कोरोना संक्रमण बढिरहेका वेला यस्तो नगर्न आग्रह गरे ।
‘यस्तो वेला पथपरहेजमा बस्नुपर्छ,’ उनले भने, ‘हामीले आग्रह गरे पनि पालना भएको छैन । यसले ठूलो दुर्घटना ल्याउन सक्छ ।’
उनले हालसालै भारतबाट ओखलढुंगामा कामदार लगिएको र त्यसमध्ये १८ जनामा कोरोना पुष्टि भएको उल्लेख गर्दै समूहमा संक्रमण बढेको बताए ।
‘प्रहरी र स्वास्थ्यकर्मीमा पोजेटिभ आउनु यसको उदाहरण हो,’ उनले भने, ‘वीरगन्जमा २८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । लापरबाही गर्नुहुँदैन, मास्क कम्पलसरी लगाउनुपर्छ ।’




प्रतिक्रिया