दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै वर्षदेखि पठनपाठन हुने

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै वर्षदेखि पठनपाठन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम – कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका लागि सिट संख्या निर्धारण गरेसँगै पठनपाठन सुरु हुन लागेको हो ।

आयोगले शुक्रबार एक सूचना जारी गरी विश्वविद्यालयका लागि एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी एमएलटी र बीएस्सी अप्टोमेट्रीमा १०–१० सिट निर्धारण गरेको जनाएको छ ।

आयोगले चिकित्सा शिक्षा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ मा भएको व्यवस्थाअनुसार आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्यांकन तथा सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम सिट निर्धारण गरेको जनाएको छ ।

आयोगले शैक्षिकसत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाअन्तर्गत स्नातक, डिप्लोमा तथा एमएनएमएस (सब–स्पेसियालिटी) तहका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाको सिट निर्धारण गरेको सूचनामा उल्लेख छ ।

सुदूरपश्चिममा चिकित्सा शिक्षा अध्ययन अध्यापन गर्ने वर्षाैँदेखिको सपना पूरा हुन लागेको भन्दै यस क्षेत्रमा उत्साह बढेको छ । विश्वविद्यालयका उपकूलपति प्रा.डा. सुनिलकुमार जोशीले शुक्रबारको निर्णयले सुदूरपश्चिमको चिकित्सा क्षेत्रमा नयाँ इतिहास निर्माण सुरु भएको बताए ।

‘यसमा प्रधानमन्त्रीज्यूको विशेष पहलकदमी छ । उहाँको प्रत्यक्ष सरोकारले नै सुदूरपश्चिमको सपना साकार हुने चरणमा पुगेको हो, त्यसका लागि विश्वविद्यालय प्रशासन र समग्र सुदूरपश्चिम अनुग्रहित छ,’ उनले भने ।

उपकूलपति जोशीले अब तत्काल शैक्षिक कार्यक्रमका लागि र विशेषज्ञ सेवाका लागि आवश्यक जनशक्ति नियुक्त प्रक्रियाले पूर्णता पाउने र विद्यार्थी छनोट भएर आउनेबित्तिकै पठनपाठन र विशेष चिकित्सा सेवाका काम अगाडि बढ्ने जानकारी दिए ।