काठमाण्डु – नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि पुगेको छ ।
शनिबार ३१५ जना सङ्क्रमित भएका छन् । सतर्क नहुने प्रवृत्तिले सङ्क्रमण बढ्न थालेको विज्ञको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले स्वास्थ्य सतर्कता अवलम्बन नगरेका कारण कोरोना सङ्क्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुुभयो ।
उहाँका अनुसार मास्कको प्रयोग नगर्ने प्रवृत्तिले पनि कोरोना बढ्ने हुँदा सतर्क हुन जरुरी छ । शनिबार इलाममा नेपाल प्रहरीमा देखिएको कोरोना पनि मास्क नलगाएकाले सङ्क्रमण सरेको जानकारी गौतमले दिनुभयो । सिंहदरबारभित्र पनि मास्क नलगाउने गरिएको भन्दै उहाँले कतिपयले भीडभाडमा कुराकानी गर्दा मास्क खोलेर गर्ने गरेकाले जोखिम बढाएको बताउनुभयो ।
जोर–बिजोर प्रणाली लागू गरिए पनि वा बन्दाबन्दी गरिए पनि व्यक्तिगत रूपमा सुरक्षा अपनाउन सकिएन भने कोरोना भाइरस सर्न सक्छ, प्रवक्ता डा. गौतमले चिनजानका साथीसँंग बोलेको हो, भेटेको हो भन्दैमा मास्क नलगाउने र सुरक्षा नअपनाउने हो भने कोरोना फैलन सक्छ भन्नुभयो । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ९९३ जनाको पीसीआर परीक्षण गर्दा थप ३१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको हो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया