अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्तावः चैतमा महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्छु

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्तावः चैतमा महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चैतमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । आइतबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले आगामी चैतमा महाधिवेशन गर्ने बताएका हुन् ।

आइतबार बिहान अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्रीको सरकारी निवासमा भएको वार्तामा अध्यक्ष अ‍ोलीले पार्टीलाई विधि र विधानअनुसार चलाउने भन्दै यस्तो प्रस्ताव अगाडि सारेका हुन् ।

केही समयअगाडि दुई अध्यक्षबीच भएको वार्तामा प्रधानमन्त्रीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको खबर बाहिर आएको थियो । पार्टीभित्रै मंसिरमा महाधिवेशन सम्भव नभएको भन्दै विरोध भएको थियो ।

दुई अध्यक्षबीच वार्ता सकारात्मक नभएपछि नेकपाभित्रको विवाद झनै चुलिँदै गएको थियो । तर, आजको बैठकमा प्रधानमन्त्री ओली नेकपाभित्रको विवाद समाधानका लागि लचिलो भएका हुन् । उनले पार्टी विधानअनुसार नै महाधिवेशन गर्ने बताएका छन् । त्यस्तै प्रधानमन्त्री अ‍ोलीले अहिले पार्टी अध्यक्षबाट राजीनामा नदिने र चैतमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

‘म अहिले राजीनामा दिन्न । चैतमा महाधिवेशन गराएर विधिसम्मत रुपमा तपाईलाई नेतृत्व हस्तान्तरण गर्छु’, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

आजको भेट सकारात्मक रहेकाले भोली पुनः दुई जना अध्यक्ष बसेर पार्टीभित्रको समस्या समाधान गर्ने स्रोतले जानकारी दियो । आजको छलफलमा नेकपा स्थायी कमिटी बैठक र केन्द्रीय कमिटीको बैठकबारे पनि छलफल भएको थियो । स्थायी कमिटी बैठक बोलाउने विषयमा सहमति भइसकेको छैन् । आजको बैठकमा दुई जना अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए ।

गत असार १८ गतेबाट स्थगित नेकपा स्थायी कमिटी बैठक एक महिना बितिसक्दा पनि अझै बस्न सकेको छैन् । प्रधानमन्त्री ओलीले सरकार र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्नेस्थायी कमिटी सदस्यहरुले माग गरेपछि नेकपाभित्रको विवाद अझै समय हुन सकेको छैन् ।