काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाले सिमानाका सिल गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्राणबारे छलफल गर्न बोलाइएको बैठकमा सभापति देउवाले यस्ताे माग गरेका हुन् ।
‘सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग गरौं । परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस्’, उनले बैठकमा भने ।
त्यस्तै सभापति देउवाले विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
‘उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस्’, उनले भने, ‘विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।’
त्यस्तै देउवाले सरकारले गरेका कमीकमजोरी र प्रगतिको गहिरो समिक्षा गर्न पनि माग गरेका छन् । ‘स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस्’, उनले भने, ‘आरडीटी परिक्षण स्थायी रुपले अन्त्य, सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त गर्नुपर्छ ।’
त्यस्तै उनले पर्याप्त स्वास्थ सामग्रीको व्यवस्था गर्न र अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता देखाउन पनि सरकारको ध्यानआकर्षण गराएका छन् । ‘आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्नुपर्छ’, उनले भने, ‘मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन र विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पु¥याउने ब्यवस्था होस् ।’




प्रतिक्रिया