महरालाई स्थायी कमिटीमा ल्याउने तयारी

महरालाई स्थायी कमिटीमा ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा ल्याउने तयारी भएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच महरालाई स्थायी कमिटी बैठकमा ल्याउने विषयमा छलफल भइसकेको स्रोतले जानकारी दियो ।

नेकपाको विधानमा ४५ जना स्थायी कमिटी सदस्य रहने उल्लेख छ । तर, हाल नेकपा स्थायी कमिटीमा ४४ जना सदस्य रहेका छन् । नेकपाका स्थायी समिति सदस्य अग्नी सापकोटा सभामुखमा निर्वाचित भएसँगै स्थायी कमिटी सदस्यको संख्या ४४ मा झरेको थियो ।

सभामुख सापकोटाको कोटामा महरालाई ल्याउन दुवै अध्यक्षले सहमति गरिसकेका छन् । महराले नेकपाका अध्यक्ष प्रचण्डसँग भेटेर स्थायी कमिटीमा आफुलाई ल्याउनुपर्ने बताएका थिए ।

त्यस्तै महराले स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर स्थायी कमिटीमा आउनेबारे छलफल गरेका छन् । महराको उक्त प्रस्ताव गृहमन्त्री बादलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुर्याइसकेको स्रोतले जानकारी दियो । महरा हाल दाङ गएका छन् । उनी काठमाण्डु आएपछि स्थायी कमिटीमा जाने प्रक्रिया अगाड बढ्ने नेकपाका एक नेताले जानकारी दिए ।

‘उहांलाई स्थायी समीतिमा ल्याउनेबारे मोटामोटी सहमति भइसकेको छ, चांडै यसबारे औपचारिक निर्णय हुन्छ ।’ नेकपाका अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो ।

पूर्वमाओवादी केन्द्रबाट दाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद महरा ०७४ फागुन २६ गते सभामुखमा चयन भएका थिए । संसद सचिवालयमा कार्यरत एक महिलालाई बलात्कारको आरोप लागेपछि महराले ०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । पछि महराले अदालतबाट सफाइ पाएका थिए ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा एमालेबाट २६ जना र माओवादी केन्द्रबाट १९ जना स्थायी कमिटी सदस्य राख्ने सहमति भएको थियो । जसमध्ये तत्कालिन एमालेबाट केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठ रहेका छन् ।

त्यस्तै तत्कालिन माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा रहेका छन् । अग्नि सापकोटा सभामुखमा निर्वाचित भएपछि उनी हाल स्थायी कमिटीमा छैनन् ।

नेकपाले ६ जनालाई आमन्त्रित सदस्य स्थायी कमिटीमा भित्र्याएको छ । ६ जनामध्ये तत्कालिन एमालेको भागमा ४ र पूर्वमाओवादी केन्द्रबाट २ जना स्थायी कमिटी सदस्य रहेका छन् ।