नेपाली सेनाले भारतबाट औषधि नल्याउने

नेपाली सेनाले भारतबाट औषधि नल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ ।

कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिनुभयो ।

उहाँले अहिले भारत सँगको औषधि खरिद प्रक्रिया टुङ्गिएको भन्नुपर्छ । फेरि आवश्यक परेको अवस्थामा फेरि प्रक्रिया अगाडि बढाउने छौँ । अहिलेलाई आवश्यकता देखिएन र अलिकति भुक्तानीको समेत समस्या आएको हुनाले अहिले यो प्रक्रिया नै बन्द गरिएको छ भन्नुभयो ।

उहाँका अनुसार औषधि खरिद गर्न सेनाले रक्षा हुँदै परराष्ट्र मन्त्रालय मार्फत भारतको विदेश मन्त्रालयलाई पत्राचार गरिएको थियो । त्यसपछि औषधि आपूर्ति गर्न सिफारिस गरिएको बीपीपीआई भन्ने कम्पनीसँग जङ्गी अड्डाको खरिद एकाइले ‘मोड अफ पेमेन्ट’ तथा ‘मोड अफ डिलेभरी’ का लागि पत्र पठाए पनि उक्त कम्पनीबाट मूल्यसूची प्रस्ताव आउन नसकेको प्रवक्ता पौडेलले बताउनुभयो ।

सिफारिस भएको उक्त कम्पनीले आपूर्ति गर्न सम्झौता नगर्ने, बिना सम्झौताकै औषधि खरिद गर्नुपर्ने, एकैचोटि पूरा भुक्तानी गर्नुपर्ने लगायतका माग राखेकाले खरिद प्रक्रिया अगाडि बढ्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । कम्पनीसँग औषधि विदेश निर्यात गर्ने प्रमाणपत्र समेत रहेको छैन ।

प्रवक्ता पौडेलले नेपालले खरिद गर्न खोजेका औषधिको निर्यातमा त्यस बेला भारतले रोक लगाएको अवस्था थियो । त्यसपछि निर्वाध रूपमा ती औषधि नेपालमा आयात हुन सुरु भयो । अहिले ती ५३ वटा औषधि नियमित रूपमा नेपालमा आयात भइरहेको छ, कुनै पनि औषधिको आयातमा रोक नलगाइएको जानकारी दिनुभयो ।

उहाँले ती ५३ वटा औषधि नियमित रूपमा नेपालमा आइरहेको र सहज तरिकाले सजिलै चाहिएको परिमाणमा उपलब्ध भइरहेकै हुनाले भारतसँग खरिदको आवश्यकता पनि देखिएन ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।