संक्रमण बढेपछि थप कडाइ

संक्रमण बढेपछि थप कडाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल तथा रेस्टुरेस्ट सञ्चालन गर्न अनुमति दिएको थियो ।

सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला र काठमाण्डु उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायत प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्र्ने सबै कार्यालयलाई ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ भने विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

सरकारले चाडपर्वहरू आआफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर आ–आफ्नो परिवारका सदस्यले मात्र मनाउन पाउने निर्णय पनि गरेको छ ।

सरकारले शैक्षिक संस्थाहरू, सबै प्रकारका सभा, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, चिडियाखानाको निषेध यथावत् राख्ने निर्णय गर्दै पालनामा कडाइ गर्ने निर्णय गरेको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।