साइबर ब्युरोमा श्रेष्ठ र पन्तबिच मिलापत्र, ३ बुँदे सहमतिपछि पत्रकार किशोर रिहा

साइबर ब्युरोमा श्रेष्ठ र पन्तबिच मिलापत्र, ३ बुँदे सहमतिपछि पत्रकार किशोर रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा पक्राउ परेका ‘जनआस्था’का सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन् ।

समाचारको विषयलाई लिएर उत्पन्न विवादमा ३ बुँदे सहमति भएपछि प्रहरीले श्रेष्ठलाई रिहा गरेको हो ।

श्रेष्ठलाई प्रहरीले शनिबार बिहान ललितपुरको बागडोलस्थित निवासबाट पक्राउ गरेको थियो । पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठसम्बद्ध ‘जनआस्था’ अनलाइनमा समाचार प्रकाशित भएपछि पन्तले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए ।

ब्यूरो स्रोतका अनुसार दुवै पक्षबिच करिब ३ घण्टा छलफल भएको थियो । छलफलपछि मिलापत्रको कागज गरेर श्रेष्ठलाई रिहा गरिएको छ ।

सहमतिअनुसार समाचारको विषयमा उत्पन्न विवादको निरूपण प्रेस काउन्सिल नेपालबाट गरिनेछ । समाचारसम्बन्धी विवादलाई प्रेस काउन्सिलमार्फत समाधान गर्ने विषयमा साइबर ब्यूरो र पन्त पनि सहमत भएका छन् । पन्तले सामाजिक सञ्जालमा श्रेष्ठविरुद्ध कुनै पोस्ट नगर्ने सहमति भएको छ ।

यसअघि नेपाल पत्रकार महासंघले समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिएको भन्दै विरोध जनाएको थियो ।

समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गर्ने र पछि सहमतिका आधारमा रिहा गर्ने घटनाले प्रेस स्वतन्त्रता, पत्रकारिताको जवाफदेहिता र समाचारसम्बन्धी विवाद समाधान गर्ने कानुनी प्रक्रियाबारे बहस सिर्जना गरेको छ ।